Thursday, March 10, 2016

कमला सरुपको कथाशिल्प

The great critic, DrKhagendra Luitel , wrote about my first and second collection of stories, “Ways To Compromise ” "Feelings of Remembrance". It was published in Garima magazine. His comments add honor for these stories. 
कमला सरुपको कथाशिल्प 
डा. खगेन्द्रप्रसाद लुइटेल
विषयप्रवेश ः कमला नेपाली साहित्यमा कमला सरुपका नामबाट चिनिन थालेकी छन् । ‘लघुताभास’ कथाका माध्ययमबाट नेपाली कथाका फाँटमा देखा परेकी कमला सरुपको सम्झौताको मोडमा शीर्षक कथासङ्ग्रहका अतिरिक्त अन्य केही फुटकर कथाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । कलिलै उमेरमा कथासिर्जनतर्फ प्रवृत्त भई थुप्रै कथाहरु सिर्जना गरिसकेकी कमला सरुप वर्तमान युवापुस्ताकी सिर्जनशील नारी कथाकार हुन् । यो लेख कथाविश्लेषणको संरचनात्मक देखिए पनि सन्दर्भ र प्रसङ्गपरिवर्तनका परिप्रेक्ष्यबाट भने तिनको विभाजनरेखा खुट्याउन सकिन्छ । यति हुँदाहुँदै पनि लघु आयामका कारण कतिपय कथामा सहज. विभाजनको स्थिति देखिन्न । यसरी विभाजनका दृष्टिले हेर्दा मुख्यत ः अचिहिनत विभाजनको स्थिति भएका कथासिर्जना गर्नु कमला सरुपको कथासिर्जनगत शिल्प रहेको देखिन्छ ।
सङ्गठन :कमला सरुपका कथाहरु कृति र वस्तु दुवैका सन्दर्भबाट निश्चित सङ्गठनमा आबद्ध छन् । यिनका प्राय ः सबै कथाको पहिलो वाक्यमै घटनामा सहभागी परिचयका माध्यमबाट अभिमुखीकरणको लगतत्तैपछि र कथामा एकसाथ प्रस्तावना गरिए कतिपयमा कृतिका आदिमा अभिमुग पाइन्छ । कथ्यलाई माध्यभागमा विस्तार गरी कतिपय कथामा अभिमुखीकरण र प्रस्तावनाझैँ एकसाथ र कतिपयमा पृथक्पृथक ढङ्गले पुष्टीकरण र निष्कर्षक प्रस्तुत गरिएको छ । यस्तै गरी यिनका कथाका वस्तुको सङ्गठनमा पनि प्रायः आदि, मध्य र अन्त्यको क्रमिकता पाइन्छ । द्धन्द्धात्मक सघनता उति नपाइए् पनि यिनका धेरजसो कथामा चिनारी,सङ्गर्ष विकास,सङ्गर्षहास र उपसंहारमा भने प्रायः क्रमिकता रहेको छ । कथाको विस्तार र समापनमा असहजता एवम् हतारोपन देखिए पनि मूलतः कृति र वस्तु दुवैलाई आबद्ध गरी कथा सिजन गर्नु कथाकार कमला सरुपका कथा सङ्गठनका शिल्पगत विशेषता हो । 
वस्तु : विषयवस्तु ÷कथ्य संरचनाको निर्माणका लागी अनिवार्य घटक हो । कमला सरुपका कथामा प्रयुक्त वस्तुको सङ्क्षिप्त विवरण यस प्रकार रहेको छ । 
कथा वस्तु÷कथ्य 
 लघुताभास : अयोग्यहरुको बोलबालाका कारण योग्यताको कदर नहुँदा योग्यहरु निरर्थक र अस्तित्वहीन जिन्दगी जिउन विवश वर्तमान युगीन कटु यथार्थ प्रस्तुत । 
बाँच्ने उपक्रममा : अभाव र गरिवीले आक्रान्त जीवनका दुःखद सन्दर्भहरुको प्रस्तुति । 
उसको मूत्युमा : निर्धनताका कारण स्वास्नीद्धारा समेत अपहेलित र तिरस्कृत साहित्यकार लोग्नेको दर्दनाक मृत्यु र मृत्युपश्चात्को प्रशंसा वर्णन । 
विफलता: प्रेमविवाह गर्ने लाहुरेले अर्की बिहे गरी आमालाई तिरस्कार गरेको हुँदा छोरीले लाहुँरेसँग बिहे गर्न अस्वीकार गरेको प्रसङ्ग ।  
सम्झौताको मोडमा: प्रेमको पूर्वस्मृति र वर्तमान बिछोडको निराशाजनक वर्णन । 
सडक र मान्छे : युद्ध विध्वंसका लागी नभएर समानता,स्वतन्त्रता, सदभाव र आर्थिक उन्नतिका लागी हुनुपर्ने धारणा व्यक्त । 
चन्द्रमा र यात्रा: वर्तमान युगीन अशान्ति, विभीषिका, त्रास, संवेदनहीनता र हसोन्मुख मानवताका सट्टा आपसी सद्भाव, विश्वास र प्रेममय जिवनको । 
कोलाहल: आन्दोलनमा सहित भएका परिवारको क्षतविक्षत सम्पन्न जिजीविषा, आर्थिक दुरवस्था, चेलीबेटी बेचबिखन आदिको चित्रण 
रामप्रसादकी छोरी: अभाव र गरिवीले आक्रान्त परिवारमा बढेकी छोरी बलात्कृत भई मृताववस्थामा फेला पर्दाको कारुणिक दृश्य प्रस्तुत 
 निरन्तर विक्षिप्त: जीवनका सुखद सपनाहरु अभाव र असन्षोमा पारिवारिक मायाको अभावका कारण अक्षमता जस्ता नारीपीडाको प्रस्तुति । 
 शान्तिदी: लोग्नेले सौता हालेका कारण घर छोड्ने बाध्य भएकी र अनेक सामाजिक लाञ्छना सहेर पनि छोरालाई सक्षम बनाउने सङ्गर्षशील नारीको चित्रण र वर्गीय विभेदका कारण अस्वीकार्य प्रेम 
 अनिश्चित यात्रा: आफन्तबाटै वम्वैको वेश्यालयमा बेचिएर एड्स बोकी फर्किएकी युवतीको मर्म र केटी बेचुवालाई दण्ड दिने कानुनको अभाव रहेको कटु यथार्थको प्रस्तुति । 
 असफल मोडमा: सहरी भीड, कोलाहल, माग्नेहरुको बिगबिगीका साथै प्रेममा असफल प्रेमिकाको पतनोन्मुख अवस्थाको वर्णन । 
 असफलता: प्रेमासक्त प्रेमिकाका सुनौला इच्छा, आकाङ्क्षाका माफ प्रेमीले अकैसँग बिहे गरेको प्रसङ्गवर्णन । 
 असुरक्षित ओथारो: रक्सी र तासको कुलतका कारण स्वास्नी र छोरीसमेत मुखियाका लागी बेच्ने नीच व्यक्ति तथा मुखियाको पन्जाबाट फुत्किए पनि स्वजनबाटै बलात्कृत भई बेचिएर रोगग्रस्त अवस्थामा स्वदेश फर्किएकी युवतीको करुण कथा प्रस्तुत । 
 हामी बाँच्न सक्दैनौँ : प्रियको प्रेमविना बाँच्न नसक्ने जस्ता प्रेमालापयुक्त भावुक (तन्नेरी) अभिव्यक्ति । 
 अप्राप्य मोड: आर्थिक आदि कारणले लामो समयको प्रेम पनि वैवाहिक जीवनमा परिणत हुन नसकेको भावुक कथ्य प्रस्तुत । 
 सान्दाइको सम्झनामा: वर्तमानमा व्याप्त निर्मम हत्या, आतङ्कका कारण आहत मानवताको कारुणिकताको प्रस्तुति । 
मैले माया गरेको तिमी: पत्रात्मक ढाँचामा जीवनमा अभाव, नैराश्य, प्रेम, अशान्ति आदिको माथिको तथ्याङ्कलाई हेर्दा कथाकार कमला सरुपले अभाव, गरिबी, पीडा, नैराश्य, मानवीय प्रेम, असफल प्रेमपीडा, वैवाहिक समस्या, लाहुरेवृत्ति, मिलन, बिछोड, कुण्ठा, करुण, विवशता, वाध्यता आदि विषयवस्तुलाई कथात्मक स्वरुप प्रदान गरेको देखिन्छ । 
यस्तै गरी यिनले बलात्कार, चेलीबेटी बेचबिखन, बहुविवाह, सामाजिक लाञ्छना, कुलत, आर्थिक असमानता, निरीहपन, संवेदनहीनता, हासोन्मुख मानवता, अशान्ति, भय, त्रास, कोलाहल, विभीषिका, असानवीयताजस्ता विषयवस्तु पनि नयन गरी कथासिर्जना गरेको पाइन्छ । निर्धन साहित्यकारका दुर्दशा, पत्नीपीडित पति र पतिपीडित पत्नीका दुरवस्था, सामाजिक विकृतिविसङ्गति, बेरोजगारी आदी कथ्यलाई पनि कमलाले आफ्ना कथामा अभिव्यक्त गरेकी छन् । 
यी विभिन्न विषयवस्तुको प्रस्तुति पाइए पनि यिनका कथाको वस्तु मूलतः मानवीय वैयक्तिक जीवनसँग र अंशतः सामाजिक राष्ट्रिय सन्दर्भसँग सम्बद्ध रहेको देखिन्छ । यिनका अधिव कथामा युवासुलभ प्रेमासक्ति, प्रेमविवाह असफलता र बिछोड वैवाहिक समस्याको प्रस्तुति पाइन्छ र यस प्रकारको प्रस्तुतिमा कथाकारको युवासुलभ भावुकता छताछुल्ल भएर पोखिएको छ, तर यो पोखाइ असहज र अशिष्ट भने छैन । नारीसमस्याको प्रस्तुति पनि पाइन्छ । यसरी समग्रमा कमला सरुपका कथामा प्रयुक्त विषयवस्तुलाई हेर्दा यिनले अभिकाशंतः जीवनका अँध्यारा पाटाहरुलाई टिपेर कथात्मक संरचना प्रदान गरेको देखिन्छ । 
सहभागी : कथाका घटनावलीलाई अग्रसर तुल्याउने वा गति प्रदान गर्ने काम सहभागीहरुले गर्दछन् । विनासहभागी कथासंरचनाको निर्णय हुँदैन । सहभागीको सहभागिताका दृष्टिले हेर्दा कमला सरुपका कथामा अत्यल्प सहभागी – हरुको सहभागीता पाइन्छ । यिनका अधिकांश कथामा नामधारी पात्रको भन्दा ‘म’ तथा ‘ऊ’ पात्रको बहुलता रहेको छ । केही नामधारी पात्रको बहुलता रहेको छ । केही नामधारीपात्र पनि ‘म’ पात्रैवरिपरि घुमाइएका छन् । यिनले कतिपय नामधारी पात्रलाई एकभन्दा, बढी कथामा प्रयोग गरेका पनि पाइन्छ,उदाहरणका रुपमा ‘अनिश्चित यात्रा’, ‘असफल मोडमा’, ‘असफलता’ शीर्षक कथामा प्रयुक्त रीतालाई लिन सकिन्छ । यिनका कथामा प्रयुक्त ‘म’ र ‘ऊ’ म’, ‘ऊ’ पात्रहरु मुख्यतः सम्बोधकका रुपमा उपस्थित छन् । यसरी न्यूनातिन्यून सहभागीका माध्यमबाट कथ्यलाई अधि बढाई कथात्मक संरचना निर्माण गर्नु यिनको सहभागी बुनोटगत वैशिष्ट्य हो । 
परिवेश: परिवेशसूचक स्थान, समय र वातावरण–मध्ये कमला सरुपका कथामा स्थान र समयको सङ्क्षिप्त एवम् सङ्केतात्मक प्रस्तुति पाइन्छ । भने वातावरणको सघन प्रस्तुति पाइन्छ । यिनका ‘अनिश्चित यात्रा’, ‘असुरक्षित ओथारो’ जस्ता कथामा गाउँ र सहरका साथै नेपालीबाहिरका मुम्मै आदि सहरको समेत वर्णन गरिएको छ भने अन्य धेरजसो कथामा स्थानको विशिष्ट समयको स्पष्ट वर्णन नपाइए पनि ‘कोलाहल’, ‘सान्दाइको सम्झनामा’ जस्ता कतिपय कथामा प्रयुक्त विषयवस्तुबाट यी कथाको समयावधि वर्तमान प्रजातन्त्रोत्तर – कालीन रहेको बोध हुन्छ । यिनका कथामा स्थान र समयभन्दा वातावरण सशक्त ढङ्गमा पात्रका माध्यमबाट जीवनका आएका र त्यो सुखदभन्दा बढी दुःखद रहेको छ । यही दुःखद वातावरणको आधिक्यका कारण यिनका कथा बढी मर्मस्पर्शी बन्न पुगेका छन् । यसरी स्थान र समयलाई कम महत्व दिई प्रायः दुःखद वातावरणका कथा लेख्नु कथाकार कमला सरुपको सिर्जनधर्मिता रहेको देखिन्छ । 
उद्देश्: कमला सरुपका कथालेखनको मुख्य उद्देश्य वर्तमान युगीन निम्न र मध्यमवर्गीय परिवार र खास गरी नारीहरुले भोग्नुपरेका असजिलो–अप्ठ्यारा, पीडा, असफल प्रेम, हिंसा अशान्ति आदिको प्रस्तुति रहेको छ । मुख्यतः ‘म’ र ‘ऊ’ पात्रका माध्यमबाट गरेको हुँदा बिब्ल्याँटा र अँध्यारा पाटाहरुको प्रकटीकरण गर्ने उद्देश्द्धारा अभिप्रेरित यिनका कथामा जीवनका सब्ल्याँटा र उज्याला पाटाको प्रस्तुतिचाहिँ कतैकतै पृष्ठभूमिका रुपमा मात्र आएको देखिन्छ । ‘असुरक्षित ओथारो’ जस्ता केही कथामा उच्चवर्गीय शोषणको प्रस्तुति पाइए पनि यिनका अधिकांश कथामा निम्न र मध्यमवर्गीय जीवनका पीडा र बेखुसीहरुको निराशा परिवेशसूचक स्थान, समय र वातावरण–जनक अभिव्यक्ति पाइन्छ । यसरी हेर्दा वैयक्तिक, र सामाजिक असङ्गतिको प्रस्तुतिकरण यिनका कथालेखनको मूल अभीष्ट रहेको देखिन्छ । 
दृष्टिबिन्दु: कथाशिल्पसंरचना विश्लेषणको एउटा महत्वपूर्ण घटक दृष्टिबिन्दु पनि हो । कमला सरुपले आफ्ना कथाको उपस्थापन अधिकांशतः स्पष्ट उल्लेख छैन । यिनका अधिकांश कथामा तिनमा प्रथम र तृतीय पुरुष दृष्टिबिन्दु स्पष्टतः छुट्टिन्छ । यिनका ‘उसको मृत्युमा’, ‘विफलता’ ‘सम्झौताको मोडमा’, ‘सडक र मान्छेहरु’ ‘चन्द्रमा र यात्रा’, ‘अन्तहीन यात्रा’, ‘एउटा कविको कथा’, ‘शान्तिदी’, ‘अनिश्चित यात्रा’,‘असफल मोडमा’, ‘असफलता’, ‘अप्राप्य मोड’, हामी बाँच्न सक्दैनौँ– हामी बाँच्न सक्दैनौँ’, ‘मैले माया गरेको तिमी’, ‘सान्दाइको सम्झनामा’ शीर्षक कथाहरु प्रथम पुरुष दृष्टिबिन्दुमा र शेष कथाहरु तृतिय पूरुष दृष्टिबिन्दुमा संरचित छन् । यिनले कथाकार स्वयम् समाख्याता भई कथा भन्ने तथा सहभागीका माध्यमबाट कथा प्रस्तुत गर्ने पद्धतिको अनुसरण गरेकी छन् । 
आफ्ना धेरजसो कथामा अपरिभाषेय जीवनको अर्थ र परिभाषा खोज्ने तथा त्यसको व्याख्या गर्ने प्रयासका कारण यिनका कतिपय कथाहरु भावुक प्रेम तथा स्वच्छन्दतावादी भावुकता सम्बन्धी आवरणमा आवेष्टित हुन पुगेका छन् । यिनकाकथामा सामाजिकता, युवासुलभ भावुक प्रेम वैयक्तिक विचारले पनि अभिव्यक्ति पाएको देखिन्छ । यसरी ‘म’ र ‘ऊ’ सहभागीका माध्यमबात प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुमा भावुकतामिश्रित वैचारिकताको प्रस्तुति यिनको कथा पउस्थापनगत वैशिष्ट्य रहेको देखिन्छ । 
भाषाशैलीय विन्यास : भषाशैलीय विन्यासका दृष्टिले कमला सरुपका कथा अजटिल संरचनामा आबद्ध छन् । यिनका अधिकांश कथामा प्रयुक्त भाषा अत्यन्त सरल छ । ‘विफलता’, ‘चन्द्रमा र यात्रा’, ‘अन्तहीन यात्रा’, ‘असफलता’, ‘मैले माया गरेको तिमी’ जस्ता कतिपय कथामा आलङ्कारिक र काव्यात्मक भाषिक विन्यासका साथ प्रकृतिचित्रण गरिएको पाइछ पनि यस प्रकारको प्रयोगसमेत अजटिल रहेको छ । ‘फुल हाम्रो मिलनमा हाँसिरहेकी छे’ (‘अन्तहीन यात्रा’) जस्ता सन्दर्भबाट ठाउँठाउँमा प्रकृतिको मानवीकरणसमेत गरिएको पाइनछ । यिनका कतिपय कथामा पाइने आगन्तुक शब्दप्रयोग सहज र सुबोध छ । प्रारम्भिक कथाहरुमा पाइने कर्ता – क्रिया सम्बन्ध, वर्णविन्यास, वर्णनात्मक शैलीको आधिक्य पाइने शब्दप्रयोग र वाक्यगठनगत असावधानी र त्रुटिहरु पछिल्ला कथाहरुमा क्रमशः न्यून हुँदै गएको देखिए पनि निमिट्यान्न पार्नेतर्फ ध्यान दिएको यिनको कथासिर्जनाले अझ विशिष्टता प्राप्त गर्न सक्ने देखिन्छ । 
कमलाका कथामा पत्रात्मक र संवादात्मक शैलीको पनि उपयोग गरिएको छ । ‘सडक र मान्छेहरु’ जस्ता कतिपय कथामा प्रयुक्त् संवादात्मक अभिव्यक्तिमा स्वाभाविकता पाइए पनि ‘हामी बाँच्न सक्दैनौँ – हामी बाँच्न सक्छौँ’,‘अप्राप्य मोडमा’, ‘मैले माया गरेको तिमी’ जस्ता कथामा प्रयुक्त पत्रात्मक शैलीका कारण यी कथाहरु नितान्त वैयक्तिक प्रेमपत्रात्मक अभिव्यक्तिजस्ता बन्न पुगेका छन् र यिनको कथात्मकतामा असर पारेको छ । यस प्रकारका भाषाशैलीय विन्यासगत असावधानीको निराकरण एवम् परिहारतर्फ कथाकार सचेष्ट रहनु वाञ्छनीय देखिन्छ । 
उपसंहार: अल्पवयमै थुप्रै कथासिर्जना गरी नेपाली कथाका क्षेत्रमा आफ्नो निजी पहिचान कायम गर्नेतर्फ उद्यम युवा नारी कथाकार कमला सरुप प्रायः लघु संरचनाका कथासर्जक हुन् । मूलतः चिहृनाङ्कित विभाजनभन्दा अचिहृनाङ्कित विभाजन पाइने यिनका कथामा प्रायः क्रमिक सङ्गठनव्यवस्था पाइन्छ । युवासुलभ प्रेमका अतिरिक्त अन्य वैयक्तिक र सामाजिक विषयवस्तुलाई यथार्थ मिश्रित भावुकतामा रङ्गाएर प्रस्तुत गर्ने कमलाका कथामा मुख्यतःनारीसमस्याका साथै जीवनका अँध्यारा पक्षहरुको अभिव्यञ्जना बढी भेटिन्छ । नामधारीभन्दा अनामधारी स्वल्प सहभागीको वातावरण विशेष ढङ्गले मुखरित भएको छ । वर्तमान जीवनका विशेषतः नकारात्मक पक्ष्को उद्घाटन गर्ने उद्देश्यद्धारा अभिप्रेरित यिनका कथामा प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुको सहज प्रयोग पाइन्छ । सरल भाषाशैलीकी कथाकार कमलाका कथाको भाषिक विन्यासकेही तलमाथी भए पनि अजटिल छ । 
पूर्वदीप्तिको प्रयोगका साथै संस्मरणात्मक ढाँचाको समेत अनुसरणतर्फ रुचि राख्ने सामाजिक र स्वच्छन्दतावादी कित्ताकी कथाकार कमला सरुपका कतिपय कथामा ‘कथाभित्र कथा उन्ने’ प्रवृति पनि पाइन्छ । यिनका धेरजसो कथाका शीर्षकहरु विषयवस्तु– अनुरुप सामञ्जस्यमूलक रहेका छन् । कतिपय कथामा पाइने विस्तारगत आधिक्य र कतिपयमा पाइने विस्तारगत न्यूनता तथा युवासुलभ भावुकता, प्रेमपत्रात्मकता आदिको न्यूनीकरणतर्फ सचेष्ट रहेमा यिनको कथासिर्जनधर्मिताले अझ सुगठितता र विशिष्टता प्राप्त गरी नेपाली कथाजगत्मा यिनको आगमन उपलब्धिमूलक हुने विश्वास गर्न सकिन्छ ।
–त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर